काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोकेर सरकारद्वारा निर्वाचन गर्ने कुरा पूर्णतया काल्पनिक भएको बताएका छन्।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले वर्तमान सरकार आफ्नो कार्यादेशअनुसार अघि बढ्न नसकेको टिप्पणी गरेका हुन्। उनले भने, ‘प्रमुख पार्टीका नेतालाई स्थान हद तोक्ने र त्यसै आधारमा चुनाव गर्ने कुरा कुनै पनि लोकतान्त्रिक मार्ग होइन। स्थान हद गर्ने र पासपोर्ट रोक्का गर्ने निर्णय तुरुन्त फिर्ता हुनुपर्छ।’
पार्टी महासचिव पोखरेलले नेपालको इतिहासमा राज्यको बल प्रयोगबाट विभिन्न कालखण्डमा क्षति भए पनि प्रधानमन्त्रीलाई दोष दिने प्रचलन नभएको र लोकतान्त्रिक व्यवस्थाभित्र बल प्रयोग गर्ने अधिकार त्यसलाई दिइएकोले प्रयोग गर्ने स्पष्ट गरे।
उहाँले यो सरकार संविधान, संसद् र जनताले मान्यता नदिएको असंवैधानिक सरकार भएको भन्दै, एमाले संसद् पुनर्स्थापनाको पक्षमा उभिएको बताए। पोखरेलले अदालतले विगतका नजीरहरूलाई आधार मानेर संसद् पुनर्स्थापना हुनेमा विश्वस्त रहन सकिने पनि उल्लेख गरे।
त्यसैगरी, जेनजी आन्दोलनपछि सुरक्षा निकाय नेपाल प्रहरीको मनोबल खस्किएको अवस्थामा सरकारले शान्ति सुरक्षामा पर्याप्त ध्यान नदिएको पनि उनले बताएका छन्। पोखरेलले नेपाली कांग्रेससँग संवाद गरी साझा दृष्टिकोण तयार गर्ने तयारी भइरहेको जानकारी समेत दिएका छन्।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया