काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालको राजनीतिक परिदृश्यमा नयाँ पुस्ता, विशेषगरी जेन जेड (Gen Z) युवाले अब निर्वाचनमार्फत देशको नेतृत्व सम्हाल्दै अघि बढ्नुपर्ने सुझाव दिएका छन् । उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन समयमै मतदाता सूचीमा नाम दर्ता गर्न सबै युवालाई आग्रह गरेका छन् ।
‘देश–विदेशमा रहेका सबै नेपालीले नियम अनुसार समयमै आफ्नो नाम मतदाता सूचीमा दर्ता गर्न आवश्यक छ,’ भट्टराईले भने, ‘यदि हामी ढिला गर्यौं भने पुरानै राजनीतिक चक्र दोहोरिन सक्छ र युवाहरू फेरि पछुताउने स्थितिमा पुग्न सक्छन्।’
उनका अनुसार अबको युगको राजनीति युवा पुस्ताले नेतृत्व गर्नुपर्छ, त्यसका लागि कानुनी प्रावधानहरू पनि समयानुकूल परिमार्जन गर्न आवश्यक छ । भट्टराईले नागरिकता प्राप्त गर्ने उमेर र मतदान गर्ने उमेर दुवै १६ वर्ष कायम गर्न सकिने सुझाव दिए ।
त्यस्तै, निर्वाचनमा उम्मेदवार बन्ने न्यूनतम उमेर सीमा २५ वर्षबाट घटाएर १८ वा २१ वर्ष कायम गर्नुपर्ने उनले बताए । ‘नत्र, पछिल्लो आन्दोलनमा अग्रसर रहेका जेन जेड युवाहरूका लागि आगामी निर्वाचन ‘जसको बिहे उसैलाई नजिक नल्या’ भन्ने लोकोक्ती सरह बन्न सक्छ,’ भट्टराईले चेतावनी दिएका छन् ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया