काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष अशोक राईलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन प्रस्ताव गरेका छन् । उक्त प्रस्ताव आएपछि जसपाले आजै केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
अध्यक्ष राईले प्रचण्ड र माधव नेपालतर्फबाट एकता प्रस्ताव आएको पुष्टि गर्दै त्यसबारे पार्टीको आधिकारिक धारणा बनाउन बैठक बोलाइएको बताए । उनका अनुसार बैठक आज बिहान साढे ११ बजे काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
राईका अनुसार बैठकमा पार्टी एकता वा मोर्चाबन्दीका लागि आएका प्रस्तावहरू, आगामी निर्वाचन रणनीति, र भदौ महिनामा देखिएको जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा व्यापक छलफल हुनेछ ।
‘प्रचण्डजी, माधव नेपालजी लगायत केही दलहरूबाट “एकता गरौं, नभए मोर्चाबन्दी गरौं” भन्ने प्रस्ताव आएको छ,’ राईले भने, ‘त्यस विषयमा पार्टीको नीति स्पष्ट गर्न आज केन्द्रीय समिति बैठक बस्दैछौं । निर्णय पनि बैठककै निष्कर्षअनुसार हुनेछ ।’
उनका अनुसार माओवादी केन्द्र र समाजवादी पार्टी मात्र होइन, राष्ट्रिय मुक्ति पार्टीबाट पनि सहकार्य वा एकताको प्रस्ताव आएको छ ।
राईले नयाँ वा पुराना राजनीतिक दलहरूसँग सहकार्य गर्ने कि स्वतन्त्र बाटो लिने भन्ने विषयमा अहिले नै ठोस निर्णय गर्न नसकिने बताए । ‘एक्लै अघि बढ्ने कि मिलेर, एकता गर्ने कि मोर्चा बनाउने—यी सबै विषयमा केन्द्रीय समितिको छलफलपछि मात्र अन्तिम निर्णय लिन्छौं,’ राईले स्पष्ट पारे ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया