काठमाडौं । काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले डा. निकोलस भुसाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
भुसाललाई मङ्गलबार गोरखाको सरस्वती आश्रमबाट पक्राउ गरिएको हो । उनले कात्तिक १६ गते सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र त्यतिबेलाका काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने चेतावनीसहित पोस्ट गरेका थिए । साथै, उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ जस्ता उत्तेजक अभिव्यक्ति दिएका थिए, जसपछि प्रहरी कारबाहीमा उत्रिएको हो ।
प्रहरीका अनुसार भुसालमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२ अनुसारको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मा मुद्दा दर्ता गरेर अनुसन्धान थालिनेछ । उक्त प्रावधानअनुसार झुटा अफवाह फैलाए वा जनतालाई हिंसातर्फ उक्साउने खालका अभिव्यक्ति दिएमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
भुसाल यसअघि पनि विवादित क्रियाकलापका कारण प्रहरी निगरानीमा आइसकेका थिए । गत असोज २३ गते माइतीघर मण्डलामा प्रदर्शन गर्न खोज्दा उनी पक्राउ परेका थिए । सो क्रममा गरिएको स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए ।
तर, सुधार केन्द्रमा पठाइएपछि पनि उनका विवादास्पद अभिव्यक्ति र उत्तेजक पोस्टहरू रोकिएका थिएनन् । हाल उनलाई जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर विस्तृत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया