काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ डा. तोसिमा कार्कीले हाल जेनजी पुस्ताले सुरु गरेको आन्दोलनलाई “निलो क्रान्ति”को रूप दिनुपर्ने बताएकी छिन् । उनका अनुसार जेनजीहरूले भ्रष्टाचारविरुद्ध उठाएको शान्तिपूर्ण जनआन्दोलनले देशमा नयाँ चेतना र परिवर्तनको लहर ल्याएको छ ।
डा. कार्कीले भनिन्, ‘जेनजीहरूले गरेको यो आन्दोलन शान्तिपूर्ण, सचेत र प्रणालीगत परिवर्तनको माग हो । यो नै निलो क्रान्ति हो—सभ्य तर गहिरो परिवर्तनको संकेत हो ।’
चितवनमा जारी रास्वपाको विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीले ‘निलो क्रान्ति गर्दै गर्दा जेनजीहरूले रातो क्रान्ति गरे’ भन्ने अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाएकी छिन् । उनका अनुसार प्रतिवेदनमा प्रयोग गरिएको यस्तो शब्दावली जेनजी आन्दोलनको मूल मर्मसँग मेल खाँदैन ।
‘प्रतिवेदन अहिले ड्राफ्टको रूपमा आएको भएकाले यसमा सुधार आवश्यक छ,’ उनले भनिन्, ‘मैले बैठकमै स्पष्ट रूपमा भनेकी छु—जेनजी आन्दोलनलाई रातो होइन, निलो क्रान्तिको रूपमा सम्मानका साथ व्याख्या गर्नुपर्छ।’
डा. कार्कीले जेनजी आन्दोलनले भ्रष्टाचार, दुरुपयोग र राजनीतिक निष्क्रियताविरुद्ध युवाहरूको दृढ सङ्कल्प प्रकट गरेको उल्लेख गर्दै, राज्यले यसलाई दमन होइन, सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राखिन् ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया