सियोल । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि अमेरिकासहित दक्षिण कोरियाको आलोचनालाई बेवास्ता गर्दै उत्तर कोरियाले शनिबार थप आक्रामक कदम चाल्ने चेतावनी दिएको छ ।
शुक्रबार गरिएको उक्त मिसाइल प्रक्षेपण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वी एसियाली भ्रमणकै बीचमा भएको हो । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलेसँग भेट गर्ने इच्छा व्यक्त गरेको एक हप्तापछि प्योङयाङले यो कदम चालेको हो । तर, किम शासनले हालसम्म सो प्रस्तावमा कुनै प्रतिक्रिया जनाएको छैन ।
उत्तर कोरियाका रक्षामन्त्री नो क्वाङ चोलले अमेरिकामाथि ‘उत्तर कोरियाको सुरक्षामा प्रत्यक्ष खतरा पुर्याउने सैन्य गतिविधि सञ्चालन गरेको’ आरोप लगाउँदै वासिङ्टन र सिओलका कदमले ‘जानाजानी क्षेत्रीय तनाव चर्काएको’ दाबी गरेका छन् ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, “हामी शत्रुहरूले दिइरहेको निरन्तर चुनौतीको सामना गर्न अझ आक्रामक कारबाहीका उपायहरू अपनाउनेछौं।”
यसअघि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उनका दक्षिण कोरियाली समकक्षले डिमिलिटाराइज्ड जोन (डिएमजेड) को संयुक्त निरीक्षण गरेका थिए । सो अवसरमा दुवै नेताले आफ्ना देशबीचको ‘बलियो सुरक्षा सहकार्य र संयुक्त रक्षा प्रतिबद्धता’ पुनः पुष्टि गरेका थिए ।
यता, अमेरिकी आणविक–सञ्चालित विमानवाहक ‘युएसएस जर्ज वासिङ्टन’ बुधबार दक्षिण कोरियाको बुसान बन्दरगाहमा रसद आपूर्ति र चालकदलको विश्रामका लागि पुगेको थियो । प्योङयाङले यसलाई ‘कोरियाली प्रायद्वीपमा तनाव बढाउने उत्तेजक कदम’को रूपमा लिएको छ ।
रक्षामन्त्री हेग्सेथको डिएमजेड भ्रमणसमेतलाई उत्तर कोरियाले ‘युद्ध उन्मादलाई प्रोत्साहन दिने गतिविधि’ भन्दै तीव्र आपत्ति जनाएको छ ।
अमेरिकी इन्डो–प्यासिफिक कमान्डले भने प्योङयाङको मिसाइल परीक्षणलाई ‘क्षेत्रीय स्थिरतामाथिको गम्भीर चुनौती’ भन्दै निन्दा गरेको छ । वक्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूसँग नजिकको समन्वयमा छ, र हाम्रो सुरक्षा प्रतिबद्धता अटल रहनेछ।”
दक्षिण कोरियाली सेनाले पनि उत्तर कोरियाको कदमको कडा विरोध गर्दै दुई कोरियाबीचको तनाव बढाउने सबै गतिविधि तुरुन्त रोक्न आग्रह गरेको छ ।
गत हप्तामात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियालाई आणविक पनडुब्बी निर्माणका लागि अनुमति प्रदान गर्ने घोषणा गरेका थिए । विश्लेषकहरूका अनुसार उक्त परियोजनाले दक्षिण कोरियाको नौसैनिक क्षमता ऐतिहासिक रूपमा सुदृढ गर्नेछ, तर यसले उत्तर कोरियाबाट अझ कठोर प्रतिक्रिया निम्त्याउने सम्भावना पनि बढाएको छ ।
यसैबीच, दक्षिण कोरियाली सांसदहरूले देशको रक्षा गुप्तचर एजेन्सीको हवाला दिँदै प्योङयाङ आफ्नो सातौँ आणविक परीक्षणका लागि ‘पूर्ण रूपमा तयारी अवस्थामा’ रहेको जानकारी दिएका छन् ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया