काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अफताब आलमको निधनप्रति श्रद्धाञ्जली स्वरूप तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको छ। शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
बैठकले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। त्यस्तै, कात्तिक २३ गते यी कार्यालय बन्द राख्ने पनि बैठकले निर्णय गरेको छ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व सभापति मोहम्मद अफताब आलम ६३ वर्षको उमेरमा निधन भएका थिए। उनी गत राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारकै क्रममा बित्नुभयो।
वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवामा जन्मिएका आलमले वि.सं. २०३६ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनले पटक–पटक मन्त्री पद सम्हालेका थिए र वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका थिए। वि.सं. २०६७ को बाह्रौं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
पार्टीले एक अनुभवी नेता गुमाएको भन्दै केन्द्रीय कार्यसमितिले आलमको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया