काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार हुन इच्छुक व्यक्तिहरूबाट ५० हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको छ ।
रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फको बन्द सूची पेस गर्ने मिति पुस १८ र १९ तय गरिएको छ ।
पार्टीका सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा बनेको समितिले उम्मेदवार छनोटका मापदण्डहरू तय गरेको छ । उनले उम्मेदवारका लागि कानुनी प्रावधानअनुसारको प्रक्रिया र योग्यता निर्धारण गरिएको जानकारी दिए ।
‘समानुपातिक सूचीमा नाम समावेश गराउन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ,’ आचार्यले बताए । ‘तर सूचीमा नाम परेको भए पनि मत परिणामका कारण उम्मेदवार चयन हुन नसकेमा सो रकम फिर्ता गरिने छैन ।’
यसअघि रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार आवेदन शुल्क २५ हजार तोकिएको थियो । जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएकाले सो निर्वाचन हुन सकेको थिएन ।
रास्वपाले अघिल्लो आमनिर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार बनेकाहरूलाई यसपटक पुनः उम्मेदवारी दिन नपाउने निर्णय पनि गरेको छ ।
सहमहामन्त्री आचार्यका अनुसार उम्मेदवारले आवश्यक कानुनी योग्यता र आचारसंहिता पालना गर्नुपर्छ । ‘सार्वजनिक पदको दुरुपयोग नगरेको, वैध आयस्रोत भएको र द्वेषपूर्ण गतिविधि नगर्ने स्वघोषणा आवश्यक हुनेछ,’ उनले भने ।
उम्मेदवार आवेदन अनलाइन वा भौतिक रूपमा दुवै माध्यमबाट पेस गर्न सकिने रास्वपाले जनाएको छ । उम्मेदवार छनोट प्रक्रियामा पार्टीले नेतृत्व विकास प्रतिष्ठान, राजनीतिक समीपता लगायतका विधिहरू अपनाउनेछ ।
आचार्यका अनुसार, ‘उम्मेदवार मूल्यांकनका लागि विशेष समिति बनाइनेछ जसमा सातै प्रदेशबाट प्रतिनिधित्व हुनेछ । पार्टीले तोकेका मापदण्डका आधारमा अंक प्रणाली प्रयोग गरेर अन्तिम सूची तय गरिनेछ ।’
समानुपातिक उम्मेदवार आवेदनको अन्तिम मिति भने पार्टीको आगामी बैठकले तय गर्ने जनाइएको छ ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया