काठमाडौं । काठमाडौंमा जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ टिसर्ट लगाएर मोटरसाइकल घुमाउँदै उच्छृङखल गतिविधि गर्ने १९ जना युवालाई प्रहरीले सोधपुछ गरेको छ। भदौ २३ र २४ मा भएको प्रदर्शनमा उनीहरूले आतंक मच्चाएको भिडियो फुटेजमा समेत देखिएको छ।

टीओबी समूहका कमान्डर तेन्जिङ दावा लामालाई असोज २६ मा पक्राउ गरी अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार दावाले अरू चालकहरूलाई परिचालन गरेको पुष्टि भएको छ। ‘दावाले निर्देशनअनुसार अरू चालकले मोटरसाइकल घुमाउँदै आतंक मच्चाउने भूमिकामा देखिएका छन्,’ उनले बताए।

advertisement

तेन्जिङलाई सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालयले ७ हजार ५ सय रुपैयाँ धरौटी माग गरेको थियो, जुन दावाले बुझाइसकेका छन्। घरको फरेन्सिक जाँच गर्दा बरामद पेस्तोल नक्कली पुष्टि भएको छ। अहिले उनीविरुद्ध लागुऔषध तथा लिखतसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

त्यसैगरी, तेन्जिङको जन्मदर्ता र नागरिकतामा शंका देखिएको छ। २०७९ असार २४ मा लिएको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौँको ढड्डामा भेटिएको छैन। डिजिटल रेकर्डमा नाम म्याच भए पनि ढड्डामा विवरण अभाव छ। उनका बुबा कृष्ण बहादुर तामाङलाई बोलाएर सोधपुछ गर्दा उनले नागरिकतामा सनाखत गरेको अस्वीकार गरेका छन्। पासपोर्टसम्बन्धी विवरणको अनुसन्धान पनि जारी छ।

प्रहरीले तेन्जिङको बैंक खाता विवरण राष्ट्र बैंकसँग मागेको छ ताकि मोटरसाइकल परिचालनका लागि फन्डिङ कहाँबाट आएको भन्ने पत्ता लगाउन सकियोस्। साथै, उनले अनुसन्धानकर्तालाई फुटेको तीनवटा मोबाइल बुझाएका छन्, जसका कारण डिजिटल प्रमाण हेर्न कठिनाइ भएको छ।

उनको डेरा खानतलासी गर्दा गाँजा फेला परेको थियो। एसपी भट्टराईका अनुसार, तेन्जिङलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने योजना छ।

भदौ २३ र २४ को प्रदर्शनमा सहभागी युवाहरू सबैको ज्याकेटमा ‘टीओबी’ लेखिएको थियो। टीओबीको अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ हो। पुलिस अनुसन्धानले उनीहरूको हिंसात्मक गतिविधि र समूहमूलक परिचालनको जाँच गरिरहेको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com