काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका केही मन्त्रीहरूले ट्रेड युनियन खारेज गर्ने अभिव्यक्तिप्रति असन्तोष व्यक्त गरेका छन्।
सोमबार एमालेको ‘घर फर्क अभियान’ को राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सार्वजनिक संस्था र विश्वविद्यालय–विद्यालयमा गठन भएका पेसागत ट्रेड युनियनलाई खारेज गर्न नहुने तर्क राखे।
उनले शिक्षामन्त्री महावीर पुनको विश्वविद्यालय र विद्यालयमा दलीय संगठनको मान्यता नदिने तथा खारेज गर्ने निर्णयप्रति आक्रोश व्यक्त गर्दै भने, ‘अब अनेरास्ववियु निजी विद्यालय र क्याम्पसमा प्रवेश गर्नेछ। हाम्रो विद्यार्थीलाई बिगार्ने छुट कसैलाई छैन। जसले पैसा तिरेर पढाइरहेका छोराछोरीलाई बिगार्ने प्रयास गर्छ, त्यो सह्य हुँदैन।’
ओलीले ट्रेड युनियन खारेज गर्ने सरकारको अभिव्यक्तिप्रति सावधान रहन चेतावनी दिँदै भने, ‘अहिले सरकार ट्रेड युनियनविरुद्ध बोलिरहेको छ। विगतमा पनि थुप्रै उदाहरण देख्यौं — यहाँ–त्यहाँ संगठन खाली गर्ने, संस्था खाली गर्ने लहर चलाइयो। अहिले त पार्टी नै समाप्त पार्ने कुरा खोजिएका छन्। ट्रेड युनियनको अधिकार अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ, कसैले यसलाई खारेज गर्न सक्दैन।’
उनले थपे, ‘ट्रेड युनियन मासिन्छ भन्ने कसैको सोच गलत हो। आवश्यक परेको खण्डमा कसैले मन नपरे पनि ट्रेड युनियन कायम रहन्छ। यसलाई कसैले मेटाउन सक्दैन।’
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया