जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले आदेश दिएमा तत्काल पद त्याग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको निर्णयलाई पूर्ण सम्मान गर्ने बताएका हुन्।
मुख्यमन्त्री यादवले भने, ‘एमाले संविधान र कानूनको शासनमा विश्वास गर्ने दल हो। म सोही पार्टीको सिद्धान्त र संस्कारबाट निर्देशित व्यक्ति हुँ। त्यसैले सर्वोच्च अदालतले मेरो नियुक्ति असंवैधानिक वा अमान्य ठहराएमा म एकछिन पनि पदमा बस्ने छैन, तत्काल सत्ता हस्तान्तरण गर्न तयार छु।’
उनले मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आफूलाई विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे। उनका अनुसार, अघिल्ला सरकारहरूमा एमालेले जसपा नेपाल र जनमत पार्टीलाई सहयोग गरेको भएकाले अहिले ती दलहरूले पनि बाध्यात्मक अवस्थामा सरकार सञ्चालनको जिम्मेवारी लिएको एमालेलाई साथ दिने अपेक्षा राखिएको छ।
‘संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक परम्परा जोगाउन बाध्यात्मक परिस्थितिमा प्रदेशको नेतृत्व लिनुपर्यो,’ यादवले भने, ‘दलहरूबीच सहकार्यको भावना कायम रहनेछ भन्नेमा म विश्वस्त छु।’
मुख्यमन्त्री यादवले हाल आफूसँग एमालेका सांसदहरूको समर्थन मात्र रहेको स्पष्ट गर्दै अन्य दलहरूसँग संवाद सुरु भइसकेको जानकारी दिए। उनले राजनीतिक परामर्श र छलफलको क्रममा सकारात्मक परिणाम आउने विश्वास पनि व्यक्त गरे।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया