काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार देशलाई स्थायित्व र समाधानतर्फ होइन, सङ्कटतर्फ धकेल्दै लगिरहेको आरोप लगाएका छन् ।
बिहीबार नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले लोकप्रिय नेताहरूलाई निष्क्रिय पारेर वा सीमित गरेर चुनावमा जान खोजिए मुलुक राजनीतिक सङ्कटमा फस्ने चेतावनी दिए ।
महासचिव पोखरेलले प्रतिनिधि सभाको पुनर्स्थापना नै वर्तमान सङ्कटको मुख्य समाधान हुने बताउँदै भने, ‘देशलाई सहमति र संविधानको बाटोमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापना गर्नैपर्छ । त्यसपछि युवाहरूका माग सम्बोधन गर्दै चाहिँ अर्ली इलेक्सनमा जान सकिन्छ, ०८४ सालको पर्खाइ गर्नुपर्दैन ।’
उनले एमाले सकियो भन्ने प्रचार पूर्ण रूपमा असत्य सावित भएको दाबी पनि गरे । पोखरेलका अनुसार, एमालेले हालै आयोजित वडा र पालिका स्तरका भेलामा देखिएको जनसहभागिताले पार्टी अझ सबल र लोकप्रिय रहेको प्रमाणित गरेको छ ।
‘२२ गतेको वडा भेला र २५ गतेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौँ जनता सडकमा उत्रिए । जनता अझै पनि एमालेसँगै छन् भन्ने यो भन्दा ठूला प्रमाण चाहिँदैन,’ उनले भने ।
महासचिव पोखरेलले चेतावनी दिँदै भने, ‘यदि केही मानिस सडकमा आउँदा मात्रै सरकार ढल्ने वा संविधान हल्लिने हो भने, एमालेसँग त दिनहुँ सडक भरिदिने शक्ति छ ।’
उनले नवयुवाका नाममा भइरहेको आन्दोलनमा बाह्य र स्वार्थी शक्तिहरूको घुसपैठ गराइएकाले देशलाई अराजकता र राज्यविहीनताको दिशामा धकेल्ने प्रयास भइरहेको आरोप लगाए ।
‘यो प्रहार केपी ओलीमाथि मात्र होइन,’ पोखरेलले भने, ‘यो त सिंगो नेपाल र नेपाली जनतामाथिको प्रहार हो । मुलुकलाई अस्थिर बनाउने खेल सबैले बुझ्नुपर्छ ।’
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार











प्रतिक्रिया