काठमाडौं । सभामुख देवराज घिमिरेले असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधि सभालाई यथाशीघ्र पुनर्स्थापना गर्नु अपरिहार्य रहेको बताएका छन्।
शुक्रबार बिहान झापा, बिर्तामोडस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै उनले संसद् पुनर्स्थापना सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले प्राथमिकताका साथ छिटो सुनुवाइमा लैजानुपर्ने आवश्यकता दोहोर्याए। कानुनी आधार, व्यावहारिक आवश्यकता र वर्तमान संकटका कारण संसद् पुनर्स्थापना अनिवार्य हुने विश्वास पनि उनले व्यक्त गरे।
उनका अनुसार जननिर्वाचित संस्था विघटन भएपछि देश अनावश्यक रूपमा राजनीतिक अस्थिरतामा धकेलिएको छ। ‘संसद् पुनर्स्थापना भएपछि संवैधानिक सुधारका माध्यमबाट अहिलेका समस्या हल गर्न सकिन्छ। जेन–जी आन्दोलनले उठाएका मागहरू समाधान गर्ने मूल बाटो पनि यही हो,’ सभामुख घिमिरेले भने।
संविधान संशोधनका विभिन्न मुद्दामा सहमतिमार्फत अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले वर्तमान प्रधानमन्त्रीकै संवैधानिक वैधता प्रश्नमा परेकाले समस्याको दीर्घकालीन समाधान संसद्ले नै दिन सक्ने बताए।
बिहीबार झापा पुगेका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विकास आयोजनाहरूको अनुगमन समेत गरेका थिए। उनले गोकुल जोशी मार्ग, हर्कलाल मार्गसहितका पूर्वाधार योजनाको प्रगति अध्ययन गरे।
त्यसैगरी जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका बिर्तामोड नगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, तथा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला कार्यालयहरू समेत स्थल निरीक्षण गरेको सभामुख सचिवालयका हिमाल मैनालीले जानकारी दिए।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया