काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी चुनावबाट कहिल्यै नभाग्ने स्पष्ट अभिव्यक्ति दिएका छन्। गुण्डुमा प्रेस चौतारीका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान परिस्थितिमा देशलाई सर्वप्रथम शान्ति–सुरक्षा आवश्यक रहेको बताए।
ओलीले केही व्यक्तिहरूले एमाले चुनाव टार्न खोजिरहेको जस्तो प्रचार गरेकामा कडा आपत्ति जनाए। ‘एमाले जस्तो ठूलो र सबल पार्टी चुनावबाट भाग्छ भन्ने कुरा किन भन्दै हिँड्नुपर्छ?’ उनले प्रश्न गरे, ‘हामी नडराउँछौँ, नभाग्छौँ। चुनाव भए हामी तयार छौँ। तर हतियारधारी समूह र अपराधीहरू खुलेआम हिँडिरहेकै अवस्थामा यस्तो असंवैधानिक सरकारलाई चुनाव गराउने अधिकार कहाँबाट आयो?’
उनका अनुसार देशलाई अहिले आवश्यक रहेको सबैभन्दा ठूलो कदम भनेको विघटित प्रतिनिधिसभाको तात्कालिक पुनःस्थापना हो।
ओलीले थपे, ‘समृद्धिका कुरा पछि गरौँला, अहिले देशमा विधिको शासन र शान्ति–सुरक्षा कायम गर्नु मुख्य काम हो।’
उनले एमाले कोहीबाट नडराउने, नत भाग्ने पार्टी भएको उल्लेख गर्दै पार्टी महाधिवेशनदेखि जनप्रदर्शनसम्मका कार्यक्रम निर्धक्क रूपमा अघि बढाउने सुनिश्चितता पनि जनाए।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार











प्रतिक्रिया