सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ राष्ट्रिय समझदारी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित पार्टी अधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङ्देनले प्रधानमन्त्री सुशीला कार्कीलाई सर्वपक्षीय संवाद सुरु गरी नवीन राजनीतिक सहमति बनाउन पहल गर्न आग्रह गरे।

advertisement

जेन–जी आन्दोलन दुई वर्षअघि आवधिक निर्वाचनका लागि मात्र नभएको जिकिर गर्दै लिङ्देनले कार्की नेतृत्वको सरकारले क्रान्तिको भावना र देशभक्तिपूर्ण उठानलाई सम्मान गर्नुपर्ने बताए। देशको अस्तित्व नै संकटतर्फ धकेलिँदै गएको दाबी गर्दै उनले भूराजनितिक दबाबले नेपाललाई गम्भीर अवस्थाबाट गुज्रिन बाध्य बनाइरहेको टिप्पणी गरे।

‘नेपाल यति गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसेको रहेछ कि कुनै पनि बेलामा देशको अस्तित्व नै जोखिममा पर्न सक्छ,’ लिङ्देनले चेतावनी दिए।

सरकार र राजनीतिक दलको निर्णय क्षमता कमजोर बन्दै गएको आरोप गर्दै उनले देशको निर्णायक शक्ति बाह्य पक्षमा केन्द्रित हुन थालेको बताए। प्रधानमन्त्रीलाई समेत आन्दोलनकारी आफ्नै घरसम्म पुगेको खबर नपाइनु राज्य संयन्त्रको दुर्बलता भएको उनको टिप्पणी थियो।

लिङ्देनले भने, ‘देश रह्यो भनेमात्र राजनीतिक दल रहन्छन्। त्यसैले सबै दलले राष्ट्रको सम्पूर्ण शक्ति समेट्ने नयाँ सहमति बनाएर सार्वभौमसत्ता नेपालमै फिर्ता ल्याउनुपर्छ।’

जेन–जीले उठाएको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग राप्रपाले पहिले नै आफ्ना घोषणापत्रमा उल्लेख गरेको स्मरण गराउँदै लिङ्देनले भने, ‘नेपालमा संवैधानिक राजसंस्था रहे मात्र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रभावकारी हुन्छ। राजा बिना यस्तो कार्यकारी संरचना घातक हुन सक्छ।’

उनका अनुसार राजसंस्था सहितको प्रत्यक्ष कार्यकारी प्रणालीले मात्र देशको स्वाधीनता सुरक्षित राख्न सक्छ।

 

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com