काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र नेता रमेश लेखकलाई पक्राउ गर्नु नै ‘सुशासन’ को प्रमापक ठानिरहेको व्यंग्यात्मक टिप्पणी गरेका छन्।
आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँग भेटघाट गर्दै ओलीले सरकारले जेनजी आन्दोलनलाई आफूहरूसँग जोडेर नाटक सिर्जना गर्न खोजिरहेको दाबी गरे।
उनका अनुसार जेनजी आन्दोलनलाई संगठित गर्ने, मागपत्र लेखिदिने, पढिदिने, मागपत्र हस्तान्तरण गरिदिने लगायत काम आफू र लेखकले गराएको जस्तो भ्रम फैलाउन खोजिँदैछ। ‘हामीलाइ थुनेर सुशासन स्थापित हुन्छ भन्ने सोच अहिलेको सरकारमा छ,’ ओलीले कटाक्ष गर्दै भने।
सरकारको समसामयिक कार्यशैलीलाई उनले ‘कलाविहीन नाटक’ को संज्ञा दिए। ‘जेनजीहरूको मागपत्र मैले पनि हेरेँ। कसले लेखिदियो, कहाँ पढियो, कसले संगठन गर्यो—सबै कुरा थाहा छ,’ उनले भने, ‘तर सरकारको नाटकमा किसीमको कला पनि छैन। यत्रो असंवैधानिक सरकारको नाटक हामीले पैसा खर्चिनै नपरी हेर्न पाइरहेका छौँ।’
ओलीले जेनजी आन्दोलनलाई उद्देश्यपूर्णरूपमा राजनीतिकीकृत गर्ने प्रयास भइरहेको आरोप लगाउँदै सरकार जनआन्दोलन, असन्तोष र जनमतलाई गलत तरिकाले व्याख्या गर्नतर्फ जोडिएको बताए।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार











प्रतिक्रिया