काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर विशेष महाधिवेशनसम्बन्धी विधानसम्मत मागलाई पार्टी नेतृत्वले कुनै पनि हालतमा नजरअन्दाज गर्न नहुने बताएका छन्।

उनले महाधिवेशन प्रतिनिधिहरूले विधिबद्ध रूपमा हस्ताक्षर संकलन गरी प्रस्तुत गरेको लिखित मागविपरीत निर्णय भए आफू महामन्त्री पदबाट नै राजीनामा दिन बाध्य हुने चेतावनी पनि सभापतिसमक्ष राखे।

advertisement

सिंगापुरबाट उपचारपछि फर्किएका देउवालाई भेट्न शर्मा आइतबार दिउँसो हात्तिसारस्थित निवास पुगेका थिए। झण्डै डेढ घण्टासम्म चलेको भेटवार्तामा शर्माले विशेष महाधिवेशन पार्टी विधानले तोकेको बाध्यकारी व्यवस्था भएकाले त्यसलाई अस्वीकार गर्ने कुनै वैधानिक आधार नरहेको प्रष्ट पारे।

देउवालाई भेटेर फर्केपछि उनले पार्टीका केही नेताहरूसँग अनौपचारिक भेटमा आफूले सभापतिसँग राखेको मतावलोकन पनि सुनाएका थिए। ‘विधानले व्यवस्था गरेको प्रक्रियालाई बेवास्ता गरियो भने पार्टी विधानसम्मत बाटोबाट बाहिरिन्छ,’ भेटपछि शर्माले निकट नेताहरूसँग भनेको बताइन्छ।

शर्माले विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी कांग्रेसले फरक ढंगले अघि बढ्ने निर्णय गरे आफू त्यही निर्णय लागू हुने मितिबाटै महामन्त्री पदत्याग गर्ने प्रतिबद्धता राखेका छन्।

उनले भनेका छन्, ‘पार्टी विधान विपरीत चल्यो भने म महामन्त्रीका रूपमा बसिरहन सक्दिनँ—त्यो निर्णय लागू भएको दिनदेखि नै पद छोड्छु।’

उक्त भेटवार्ताबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि शर्माले जानकारी गराइसकेको कांग्रेस नेताहरू बताउँछन्।

कांग्रेस विधानको धारा १७(२) अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ।

यही प्रावधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरी कार्यवाहक सभापति खड्कासमक्ष असोज २९ गते लिखित माग दर्ता गराएका थिए। तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने नियमअनुसार पुस २८ उक्त समयसीमा सकिने दिन हो।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा दुवैले पुस १६–१९ मा नियमित महाधिवेशन गर्न नसके कानूनी रूपमै विशेष महाधिवेशनमा जानुको अर्को विकल्प नरहेको अडान लिएका छन्। थापाले १५औँ महाधिवेशनका लागि कार्यतालिका समेत केन्द्रीय समितिमा प्रस्तुत गरिसकेका छन्।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com