काठमाडौँ । काठमाडौं महानगरपालिकाले भदौ पहिलो सातादेखि सुरु गरेको अनधिकृत संरचनामाथि डोजर चलाउने अभियान जारी छ । महानगरपालिकाले अनधिकृत संरचना हटाउन भनेर ३५ दिने सूचना समेत निकालेको थियो तर सम्बन्धित घरधनीले अटेर गरेपछि डोजर लगेर भत्काइरहेको छ ।
अभियान सुरु भएयता महानगरले वडा नम्बर ५, २४, २५ र २७ मा बनाइएका ओभरल्याप हटाएको छ । १६ नम्बर वडामा ७ वटा टहरा र १ वटा भर्याङ, भोटाहिटी पिपलबोटमुनि रहेका २ वटा टहरा हटाइएको नगर प्रहरी निरीक्षक धर्म भण्डारीले बताए ।
यस्तै, माछापोखरी नापातौल अगाडि र महादेव खोला किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा टहरा महानगरले हटाएको छ । वनस्थली ढुंगेधारा क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको टहरा पनि हटाएर खाली गराइएको उनले बताए ।
नगर प्रहरीले वसुन्धारा चोकबाट सिर्जनशील मार्गसम्म करिब ९ सय मिटर जीएलडी बाटो खोल्ने कार्यमा करिब सय घरको कम्पाउन्ड समेत भत्काएको छ । ती कम्पाउन्ड सार्वजनिक जग्गाभित्र निर्माण गरिएका थिए । यस्तै, वडा नम्बर १०मा सडक खोल्ने क्रममा वडाध्यक्षको रोहबरमा ४ वटा घर भत्काइएको नगर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार
प्रतिक्रिया