काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएको गोली प्रकरणलाई लिएर ‘राजीनामामात्रै होइन, जिम्मा लिनुपर्छ’ भन्ने स्वर उठाउनुलाई पार्टी र नेतृत्वमाथिको सीधा हमला भएको टिप्पणी गरेका छन्।

मंगलबार एमालेका विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले केही दिनअघि उपाध्यक्ष सुरेन्द्र पाण्डेले सार्वजनिक गरेका अभिव्यक्तिलाई लक्षित गर्दै असन्तुष्टि जनाए। ‘धरहरा मैले बनाएँ भन्न मिल्नेले गोली कसले चलायो थाहा पाइनँ भन्न मिल्छ ? भन्नेहरू सुनेका छौँ,’ ओलीले भने, ‘यो भनाइले नेतृत्वलाई नै आक्रमण गर्ने कोशिश भएको छ।’

advertisement

उनका अनुसार सुरक्षाकर्मी—प्रहरी र नेपाली सेनाले घटनाको परिस्थितिजन्य कारण स्पष्ट पारेका अवस्थामा नेतृत्वलाई ‘जिम्मा लिनुपर्छ’ भन्ने माग अनौचित्यपूर्ण र उद्देश्यपूर्ण प्रहारजस्तो देखिएको छ।

उपाध्यक्ष पाण्डेले हालै प्रश्न उठाएका थिए—‘धरहरा बनाएको दाबी गर्ने नेताले भदौ २३ को गोलीकाण्डबारे थाहा छैन भन्न मिल्छ ?’

बैठकमा ओलीले जेनजी आन्दोलनपछि बनेको सरकारबारे समेत टिप्पणी गर्दै त्यसको वैधानिकता र प्रक्रियामाथि प्रश्न उठाए। ‘नेपाली जनताले बनाएको सरकार होइन भन्ने चर्चा छ। डिस्कोर्ड र टेलिफोनबाट सरकार बन्ने ? यस्तो प्रक्रियाले लोकतन्त्र भत्काउँछ, संविधान मिचिन्छ,’ उनले भने।

उनले अहिलेको राजनीतिक परिस्थितिलाई ‘अन्योलपूर्ण’ भन्दै संविधानको अस्तित्व नै धम्कीमा परेको जस्तो वातावरण बनाइएको आरोप पनि लगाए।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com