काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेका थिए। उनले पहिले फिल्डिङको निर्णय गरे।

दुई दिनअघि मात्रै काठमाडौं गोर्खाजसँग भिडेको सुदूरपश्चिमका माथिल्लो क्रममा ब्याटर धरासायी बनेका थिए। मध्यक्रममा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालिएर खेल्दा हरमित सिंहले अविष्मरणीय पारी खेलेर खेललाई उकासेका थिए।

advertisement

पोखराले काठमाडौंले जस्तै सुदूरपश्चिमका ब्याटरमाथि दबाब बनाएर न्युन लक्ष्यसहित खेल जित्ने दाउ राखेको हुनुपर्छ। तर, आज सुदूरपश्चिमका ओपनर जोस ब्राउन र विनोद भण्डारी अर्कै मोडमा देखिए। उनीहरूले पहिलो विकेटका लागि १०८ रनको विशाल साझेदारी गरिदिए। सो क्रममा ब्राउनले ३५ बलमा ६८ रनको योगदान दिए भने विनोदले ४२ बलमा ४३ रन जोडेका थिए।

तेस्रो क्रममा आएका क्रिस लिनले १३ बलमै ३१ रनको आक्रामक पारी खेले। त्यसपछि दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रनको योगदान दिए। अन्तिममा पोखराका बलरले दबाब सिर्जना गरे पनि ढिला भइसकेको थियो। सुदूरपश्चिम १९३ रनसम्म पुग्यो।

१९४ रनको लक्ष्य सानो थिएन। यसपटक पोखराका ब्याटिङको माथिल्लो क्रम धरासायी भयो। पाँचौँ ओभरमा २० रनमै ३ विकेट गुम्न पुगे। त्यसपछि कप्तान कुशल भुर्तेल र न्युजिल्यान्डका स्टार क्रिकेटर जिम्मी निसमले ११ ओभरमा ९० भन्दा माथि पुगाउँदै ७५ रनको तेजतर्रार साझेदारी निभाए।

१२ औँ ओभमार २५ बलमा ४७ रन जोडेका निसम आउन हुन पुगे। केही बेरमा कप्तान कुसल पनि ३२ बलमा ५३ रन जोडेर आउट भए। उनीहरूबाहेक ड्यान डथवेटले १६ बलमा ३७ रन जोड्नसके।

उनीहरूको योगदानका कारण ८ विकेटको क्षतिमा पोखरा १७५ रनसम्म पुग्यो। जुन जितका लागि पर्याप्त भएन।

यता काठमाडौं गोर्खाजसँगको पहिलो खेलमा सुरुमा ब्याकफूटमा रहेपनि बारम्बार खेलमा फर्किएर अन्तिममा खेल जितेको सुदूरपश्चिम आजको खेलमा एकतर्फी जित निकाल्यो। यो जितसँगै आफूले खेलेका दुवै खेलमा शतप्रतिशत(२–२) अंक लिएर कुल ४ अंक जाेड्दै सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।

उता पहिलो खेल विराटनगर किंग्ससँग गुमाएको पोखरा यो हारसँगै लगातार दोस्रो हार ब्यहोरेको छ। दुई हारसँगै उ अंक तालिकाको पुछारमा छ। जसले आगामी खेलमा उसमाथि निकै दबाब हुने देखिन्छ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com