६ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कुनै पनि दलसँग गठबन्धन नगर्ने भएको छ ।जिल्ला अध्यक्ष नरेन्द्र पोडेलले नेपालगञ्ज
उपमहानगरपालिकामा राप्रपा एक्लै चुनाव लड्ने जानकारी दिए । नेपालगञ्जमा राप्रपाको राम्रो प्रभाव रहेकाले आफूहरु ढुक्क रहेको उनले बताए ।
नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले अब मेयरमा नदोहोरिने घोषणा गरिसकेका छन् । त्यसैले पार्टीले नेपालगञ्जको मेयरको उम्मेदवारमा तेजविक्रम शाह, गौरव चन्द, सफिक बेहना र ओमप्रकाश आजादको नाम सिफारिस गरेको छ ।
शाह यसअघिको स्थानीय चुनावमा खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार भएका थिए । बेहना हाल नेपालगञ्ज वडा नं. ४ का वडा अध्यक्ष हुन् ।
यस्तै राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकाका ९ वटा वडाहरुमा आफ्नो उम्मेदवारको टुंगो लगाएको जनाएको छ । अध्यक्ष पौडेलका अनुसार हालसम्म नेपालगञ्ज वडा नं. १, २, ३, ८, १३, १४, १५, २२, २३ मा उम्मेदवार टुंगो लागेको हो ।
यसैगरी राप्रपाले खजुरा गाउँपालिकाको अध्यक्षमा धनसिंह राना र उपाध्यक्षमा तिलकुमारी हमाललाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ ।
प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया