काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटको प्रारम्भिक बहसका लागि पेशी तोकिएको हो।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको गिरफ्तारीका कारणसहित उनीलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो।
प्रसाईंका छोरा निराजन प्रसाईंले गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्। रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।
गत सोमबार मध्यराति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई पक्राउ गरेको थियो। उनीमाथि शान्तिविरुद्धको कसुरमा कारबाही थालिएको र अहिले प्रहरी हिरासतमा राखिएको छ।
पक्राउ पर्नुअघि सोमबारै प्रसाईंले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सुशिला कार्कीलाई लक्षित प्रश्न उठाएका थिए। त्यही दिन उनले आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै मंसिर ७ गतेदेखि विरोध प्रदर्शन थालेको घोषणा गरेका थिए। आन्दोलनको तयारी भइरहेको बेला उनी पक्राउ परेका हुन्।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया