काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले मुलुकको राजनीतिक चेतनामा ऐतिहासिक परिवर्तन ल्याइदिएको बताएका छन्।

आइतबार आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै परियारले समावेशी व्यवस्था निर्माण गर्न राजनीतिक नेतृत्व असफल हुँदा कति गहिरो आन्दोलन भड्किन सक्छ भन्ने कुरा जेनजी आन्दोलनले स्पष्ट प्रमाणित गरेको बताए।

advertisement

उनले भने, ‘जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना उदघाटन गरिदिएको छ। हामीले समावेशी व्यवस्था निर्माणमा विफल हुँदा पुस्तौंसम्म बेवास्ता गरिएको जनआकांक्षा भदौ २३ र २४ को विद्रोहका दिन विस्फोट भएर प्रकट भएको छ।’

परियारका अनुसार आजको घोषणा सभा कुनै साधारण दल घोषणा कार्यक्रम मात्र नभई मुलुक गम्भीर सङ्कटबाट गुज्रिरहेको अवस्थामा लोकतान्त्रिक, प्रगतिशील विचारधारा भएका तथा राष्ट्रका चिन्तक सबैलाई एउटै थलोमा ल्याउने ऐतिहासिक क्षण हो।

उनका शब्दमा, ‘यो केवल पार्टी निर्माणको दिन होइन। राष्ट्र सङ्कटमा परेको अहिलेको समयमा लोकतान्त्रिक, प्रगतिशील तथा देशबचाउने भावना भएका सबै नेपाली एकजुट भएर उभिने दिन हो।’

त्यसैगरी उनले संविधानले प्रत्याभूत गरेका लोकतान्त्रिक अधिकारहरू कमजोर हुँदै गएका र संविधान नै सङ्कटको घेरामा परेको गम्भीर चिन्ता व्यक्त गरे।

परियारले आफ्ना पुस्ताको सबैभन्दा ठूलो चुनौती ‘राज्यप्रतिको हराएको विश्वास पुनःस्थापित गर्नु’ रहेको उल्लेख गर्दै जनताको भरोसा फर्काउन सक्ने राजनीतिक संस्कार निर्माण नै अहिलेको प्राथमिक आवश्यकताको रूपमा देखाए।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com