काठमाडौं । नेकपा एमालेले आफ्नो ११औँ महाधिवेशनको मूल नारा तय गर्दै महाधिवेशन तयारीको रुपरेखा सार्वजनिक गरेको छ। च्यासलमा बसेको महाधिवेशन सचिवालयको बैठकले तयारी योजनासहित विभिन्न निर्णयहरू गरेको हो।
बैठकअनुसार महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरिएको छ। मंसिर २७ देखि २९ गतेसम्म एमालेको महाधिवेशन सम्पन्न हुने छ।
उद्घाटन कार्यक्रमको स्थानको लागि तीन सम्भावित विकल्प प्रस्तावित गरिएको छ—खुलामञ्च, भृकुटीमण्डप र भक्तपुर सल्लाघारीको खाली जमिन रहेकाे छ। बैठकमा सहभागी नेताले बताए अनुसार, भृकुटीमण्डप सानो भएकाले र खुलामञ्चमा कार्यक्रम गर्न काठमाडौंका मेयर बालेन साहले सकारात्मक नदेखाएका कारण सल्लाघारीको खाली जमिन सबैभन्दा उपयुक्त विकल्प रहेको देखिएको छ।
ती नेताले भने, ‘भेन्यूबारे तीन स्थानमा प्रस्ताव आयो, त्यसमध्ये ९९ रोपनी क्षेत्रफल भएको सल्लाघारीको खाली जमिन उत्तम विकल्प देखिएको छ। सम्भावना बढी सल्लाघारीकै रहेको छ।’
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि काठमाडौंमा सवारी जाम र सर्वसाधारणको आवतजावतमा असर नपरोस् भनेर उद्घाटन स्थल सल्लाघारीमा सार्ने सम्भावना बढी रहेको बताएका छन्। महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमै हुनेछ।
महाधिवेशन तयारीका लागि गठित १२ उपसमितिले अहिलेसम्मको प्रगति र आगामी योजना प्रस्तुत गरेका छन्।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












प्रतिक्रिया