काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएन भन्ने धारणा बनाउनु गलत भएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो स्पष्ट पारेका हुन्।

डा. वाग्लेका अनुसार, २०४८ सालपछि निर्वाचित सरकारले लागू गरेका आर्थिक नीतिहरूले नेपालमा महत्वपूर्ण परिवर्तन ल्याएका थिए। उनले भने, ‘२०४८ सालको सरकारले सुरु गरेको आर्थिक सुधारको परिणामस्वरूप नेपालले औसत ७ प्रतिशत आर्थिक वृद्धिदर अनुभव गर्‍यो, र यदि त्यसलाई निरन्तरता दिइएको भए आज नेपालको अर्थतन्त्र करिब १०० अर्ब डलरको आकारमा पुगिसक्थ्यो। तर वर्तमानमा अर्थतन्त्र केवल ४५ अर्ब डलरमै सीमित छ।’

advertisement

उनले पछिल्लो डेढ दशकदेखि नेपाल राजनीतिक–आर्थिक अस्थिरताको चक्रमा फसेको पनि औँल्याए। भदौ २३–२४ का घटनाहरू यस अस्थिरताको स्पष्ट प्रतिबिम्ब भएको उनले बताए। त्यसैगरी, हालको जेनजी आन्दोलनले मुलुकलाई नयाँ मोडमा पुर्‍याएको उल्लेख गरे।

डा. वाग्लेका अनुसार, यस सङ्क्रमणलाई सफलतापूर्वक व्यवस्थापन गर्न सकियो भने देशले नयाँ आर्थिक–राजनीतिक मार्ग पाउन सक्छ। तर असफल भएमा पुनः प्रतिगमनको खतरा बढ्ने उनी बताउँछन्। यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र र नयाँ दलहरूले बहन गर्नुपर्नेमा उनले जोड दिए।

उक्त कार्यक्रममा उनले भने, ‘नेपाल एक डेढ दशकदेखि उकुसमुकुसमा छ। यसको प्रतिबिम्ब भदौ २३–२४ का विस्फोटमा देखियो। यदि हामीले मुलुकको आर्थिक–राजनीतिक मार्गलाई सही दिशा दिन सकेका हौँ भने नयाँ ट्रयाजेक्टरीमा प्रवेश गर्ने अवसर छ। तर विफल भए फेरि प्रतिगमन र आशाहरू मेटिने जोखिम छ, र युवाहरूको भविष्यमा प्रकाश निभ्ने अवस्था आउँछ।’

साथै, डा. वाग्लेले आगामी निर्वाचनपछि नयाँ नेतृत्वले देशमा आर्थिक विकास सुनिश्चित गर्न दर्जनौँ कानूनमा सुधार गर्नु आवश्यक रहेको बताए।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com