काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले केही नेताहरू बाहिरिएको मात्र कारणले रास्वपा कमजोर नबनेको स्पष्ट पार्दै पार्टी अझै बलियो अवस्थामा रहेको दाबी गरेका छन्।
बुधबार पत्रकारहरूसँगको भेटमा नेता खनालले सुमना श्रेष्ठ र सन्तोष परियारजस्ता नेताहरू पार्टीबाट अलगिए पनि रास्वपाको राजनीतिक यात्रा नरोकिने बताए। पत्रकारहरूले ‘यी नेताहरू गइसकेपछि रास्वपाको रेल रित्तियो त ?’ भनी सोधेको प्रश्नमा खनालको प्रतिक्रिया थियो— उहाँहरू पार्टी छोड्दा व्यक्तिगत रूपमा मलाई र सभापति रवि लामिछानेलाई दुःख लाग्नु स्वाभाविक हो। तर साथीहरू जाँदैमा पार्टी थलिँदैन। हामी दृढ आत्मविश्वासका साथ आगामी निर्वाचनबाट नै देशको नेतृत्व लिने तयारीमा छौँ।’
उनले विघटित संसद पुनःस्थापना हुन लागेको भन्ने चर्चालाई पनि आधारहीन हल्ला बताए। जेन–जी आन्दोलनको पहिलो दिनमै संसदको औचित्य समाप्त भइसकेको उल्लेख गर्दै खनालले थपे,
‘जलेर सकिएको संसद फेरि उठ्छ र बाँकी कार्यकाल उपभोग गर्न पाइन्छ भनेर कोही नेताहरू सपना देखिरहेका छन् भने त्यो पूर्ण रूपमा भ्रम हो। अहिले देशको एकमात्र निकास पुनर्स्थापना होइन, नयाँ निर्वाचन हो।’
नेता खनालले अघिल्लो सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध लिएको दाबी गर्दै अहिलेको परिस्थितिमा रास्वपा जनताको भरोसामा अझ मजबुत हुने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












प्रतिक्रिया