काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई पुनः प्रधानमन्त्री बन्ने कुनै व्यक्तिगत आकांक्षा नरहेको बताएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकामा नयाँ प्रशासकीय भवनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताको सेवकको भूमिकामै रहन चाहेको स्पष्ट पारे।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि दाहाललाई फेरि प्रधानमन्त्री देख्न चाहेको अभिव्यक्ति दिएपछि दाहालले सो धारणा अस्वीकार गर्दै भने, ‘म प्रधानमन्त्री भएर मात्र देश चल्छ भन्ने सोचमा छैन। त्यसका लागि लोभ, रहर वा मरिहत्ते गर्ने बानी पनि ममा छैन।’ तर जनताले माग्यो, देशले आवश्यकता महसुस गर्यो भने जिम्मेवारीबाट पछि हट्ने स्वभाव पनि नरहेको उनको भनाइ थियो।

advertisement

स्थानीय तहका प्रतिनिधिहरूले दाहालको काम र व्यक्तित्वको प्रशंसा गरेपछि उनले आफूलाई ‘भगवान’ होइन, जनताको सेवकको रूपमा बुझिदिन आग्रह गरे। ‘म किसान–मजदुरको छोरा हुँ, तपाईंहरूकै सेवामा धेरै वर्षदेखि समर्पित व्यक्ति हुँ,’ दाहालले भने।

भदौ २३ र २४ गते देशभर देखिएको तनावपूर्ण परिस्थितितर्फ संकेत गर्दै दाहालले राज्यको लापरबाहीले ‘राज्यविहीनताको’ अनुभूति हुने वातावरण बनेको टिप्पणी गरे। शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग हुँदा ठूलो क्षति पुगेको भन्दै उनले गम्भीर चिन्ता प्रकट गरे।

कार्यक्रममा दाहालले बुढीगण्डकी जलविद्युत आयोजना आफू सरकारमा रहे–नरहँदा पनि निरन्तर अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए। प्रधानमन्त्री भएका बेला उनले यसबारे सिंहदरबारमै बारम्बार उच्चस्तरीय बैठक बसेको स्मरण गरे। उनका अनुसार राष्ट्रिय गौरवका आयोजना राजनीति र विवादको विषय बन्नु हुँदैन।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com