वासिङ्टन डीसी । अमेरिकाले अफगान नागरिकका सबै प्रकारका अध्यागमन (इमिग्रेशन) सम्बन्धी निवेदनहरूको प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यूएस नागरिकता तथा अध्यागमन सेवा (यूसीआईएस) का अनुसार सुरक्षा प्रोटोकलहरूको पुनरावलोकन भइरहेको हुँदा यो कदम उठाइएको हो। माइक्रोब्लगिङ साइट ‘एक्स’ मा संस्थाले लेखेको छ, ‘मातृभूमि र अमेरिकी जनताको सुरक्षा नै हाम्रो प्रमुख प्राथमिकता हो।’
यो निर्णय ह्वाइट हाउस नजिकै भएको गोलीबारी घटनापछि आएको हो, जसमा दुई नेशनल गार्डका सैनिक गम्भीर घाइते भएका थिए। आक्रमणकारी २०२१ सेप्टेम्बरमा अमेरिकामा प्रवेश गरेका अफगान नागरिक भएको पुष्टि भएकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई ‘आतंकवादी हमला’ अभिव्यक्ति दिँदै, अमेरिकामा बस्न अयोग्य ठहरिने कुनै पनि विदेशीलाई देशबाट हटाउने भन्दै कडाइका कदम चाल्ने बताएका छन्।
सन् २०२१ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गरेपछि हजारौँ अफगानी नागरिकलाई विशेष सुरक्षा प्रक्रियाअन्तर्गत अमेरिकामा प्रवेश गर्न अनुमति दिइएको थियो। ह्वाइट हाउस बाहिरको गोलीकाण्डमा संलग्न भएको आशंका गरिएका व्यक्ति २९ वर्षीय रहमानउल्लाह लकनवाल ‘अपरेशन एलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिका भित्रिएका थिए।
गोलीकाण्डपछि जारी वक्तव्यमा राष्ट्रपति ट्रम्पले बाइडेन प्रशासनले अफगानिस्तानबाट ल्याइएका सबै विदेशीहरूको पुनः सुरक्षा जाँच गर्नुपर्ने टिप्पणी गरेका छन्। ट्रम्पले यसअघि नै अफगानिस्तानसहित मुस्लिम बहुल ११ देशका नागरिकमाथि अमेरिका यात्रा प्रतिबन्ध लगाइसकेका थिए, र पछिल्लो निलम्बन त्यसकै निरन्तरता भएको बताइन्छ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया