काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्रको सार्वजनिक बहसलाई लिएर आपत्ति नगर्ने स्पष्ट पारेका छन्। आसन्न महाधिवेशनबारे आफ्नो भिडियो सन्देशमा उनले जेन-जी आन्दोलनपछि पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक भएको बताएका छन्।

भट्टराईले भने, ‘मुख्य राजनीतिक दलहरूमा तीव्र छलफल भइरहेका छन्। एमाले महाधिवेशनको तयारीमा छ, कांग्रेस आफ्ना आन्तरिक विषयमा गम्भीर छलफलमा छ। अन्य दलहरू पनि आन्तरिक छलफलमा छन्। तर जब म पार्टीको नीतिका विषयमा बहस गर्छु, कतिपयले यो विषय सार्वजनिकमा किन उठाइरहनुभएको छ भन्ने प्रश्नले मलाई छोयो।’

advertisement

उनले भने, पार्टीका आन्तरिक विषयहरू पनि जनतासँग साझा हुने महत्त्वका हुन सक्छन्। उनले थपे, ‘एमाले, कांग्रेसजस्ता दलहरूले जो पटक-पटक राज्यसत्तामा रहेका छन् र जनप्रतिनिधिमूलक निकायमा प्रतिनिधित्व गर्दै आएका छन्, आफ्ना नीति र विचारहरू आम जनता र नागरिकसँग छलफल गर्नु आवश्यक हो कि होइन? यो गम्भीर विषय हो।’

साथै, पार्टीभित्र कतिपय व्यक्तिले आन्तरिक मामिलालाई अत्यधिक सार्वजनिक बहसमा नल्याउनुपर्ने गोपनीयताको पक्षमा रहेको भट्टराईले बताएका छन्। तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, भदौ २३ र २४ का घटनासँग सम्बन्धित दृष्टिकोण, देशको आर्थिक, सामाजिक, स्वास्थ्य, रोजगार र युवा नीतिसम्बन्धी छलफललाई गोपनीयता अन्तर्गत नराख्ने उनको मत छ।

उनले सबैलाई सार्वजनिक बहसबाट डरिन नहुने भन्दै, पार्टीले जनताको विश्वास जितेर बहुमत हासिल गरी सरकार बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com