काठमाडौं । सुन तस्करी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएपछि रिहा भएका छन्।

उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी तोकेपछि उनलाई रिहाइ प्रक्रियाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो। जिल्ला अदालतका प्रवक्ता दीपक कुमार श्रेष्ठका अनुसार महराले निर्धारित धरौटी रकम बुझाएपछि अदालतले उनको रिहाइ आदेश जारी गरेको हो।

advertisement

उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार गरेको आदेशमा ‘मुल जाहेरीमा महराको नाम उल्लेख छैन, पहिलो पुरक अभियोगमा पनि उनको संलग्नताबारे कुनै विवरण छैन, अन्य अभियुक्तहरूले समेत उनीविरुद्ध बयान नगरेको अवस्था छ’ भन्दै तत्काल थुनामा राखिराख्नुपर्ने परिस्थिति नदेखिएको स्पष्ट गरिएको थियो।

मुल अभियोग र पुरक अभियोगका प्रमाणहरूको विश्लेषण, बयान तथा कागजातको अध्ययनपछि महरालाई थुनामा राखिराख्नुपर्ने कानुनी आधार कमजोर रहेको ठहर उच्च अदालतले गरेको हो।

यसअघि असोज २९ गते काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सो आदेशलाई उल्टाउँदै उच्च अदालतले उनीलाई २० लाख धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो।

महरालाई असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो। २०७९ पुस १० गते फ्लाई दुबईको एफजेट ०५८७ उडानमार्फत ल्याइको ९ किलो सुन तस्करी प्रकरणमा उनको संलग्नता रहेको दाबीसहित मुद्दा दायर गरिएको थियो।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com