काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११ औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताएका छन्। प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले नीति महाधिवेशन सम्पन्न गरिसकेकाले अब नेतृत्व चयनको महाधिवेशन हुने बताए।
उपमहासचिव गुरुङले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता पक्षमा उभिएकाले केही विमति भए पनि राष्ट्रिय स्वाधीनताको पहलेदार भने पक्कै रहेको बताए। उनले कम्युनिष्ट आन्दोलनको मुद्दा र राष्ट्रिय स्वाधीनताको मुद्दा बोक्ने नेता ओलीलाई नै फेरि पनि पार्टी नेतृत्वमा लैजानुपर्ने बताए।
जनताको बहुदलीय जनवाद (जबज)को उत्तरअधिकारी कुनै परिवारको सदस्य नभई पार्टी अध्यक्षको हैसियतले ओली नै रहेको गुरुङको भनाइ थियो। ‘जबज भनेर हिँडेका मान्छे धेरै थिए। ती चुनाव हार्दै पार्टी छोड्दै हिँडे। त्यही भएर उनीहरू कोही पनि जबजको उत्तराधिकारी होइनन्,’ उनले भने, ‘जबजको व्याख्या र कार्यान्वयन गर्ने व्यक्ति केपी शर्मा ओली नै हुनुहुन्छ।’
कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लेखेको ‘जनताको बहुदलीय जनवादका आधारहरू’ पुस्तक विमोचन गरिएको छ। नेता गौतमले पुस्तकमा मदन भण्डारीसँग आफूले काम गरेको अनुभव पुस्तकमा लेखेको बताए।
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार













प्रतिक्रिया