काठमाडौं । नेकपा एमालेभित्र बढ्दो आन्तरिक प्रतिस्पर्धाबीच नेता ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पोखरेल पक्षबीच प्रत्यक्ष भिडन्त हुने संकेत भेटिएपछि पोखरेल समूहले आफ्नो धारणा र पक्षको एजेन्डा सार्वजनिक गर्न पत्रकारहरूसँग खुला संवाद आयोजना गर्न लागेको हो।
बागबजारस्थित हार्दिक होटलमा बिहान ११ बजे तय गरिएको पत्रकार भेटघाटमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराई लगायत पोखरेल पक्षका वरिष्ठ नेताहरू सहभागी हुने बताइएको छ।
यसअघि एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा ओली पक्षधर पदाधिकारीहरूलाई सहभागी गराई अध्यक्ष ओलीको पक्षमा स्पष्ट रूपमा उभिन दबाब दिएको आरोप उठेको थियो। उता, पोखरेल पक्षलाई पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहबाट पनि खुला समर्थन मिलिरहेको बताइन्छ।
नेतृत्व चयनसहितको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने कार्यसूची तय भएको छ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया