गोवा । उत्तरी गोवाको अर्पोरास्थित ‘बर्च बाई रोमियो लेन’ नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा चार जना नेपाली नागरिकसहित कम्तीमा २५ जनाको ज्यान गएको छ भने करिब ५० जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमले मारिने २५ जनाको नाम सार्वजनिक गरेका छन् । उनीहरुमध्ये नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन (थर नखुलेको) र सुदीप (थर नखुलेको) नेपालका हुन् । नेपालीहरुको पुरा ठेगाना खुलाइएको छैन ।

advertisement

घटनाको समयमा क्लबमा दमकल विभागको एनओसी नहुँदा र सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरिएको खुलेको छ। मृतकमध्ये अधिकांश पीडितहरू भुईँ तल्ला र भान्सामा फसेर घुटनका कारण मृत्यु भएका थिए। साँघुरो गल्ली र ढोकाका कारण दमकल गाडीहरू घटनास्थलमा ढिला पुगेको बताइएको छ।

गोवा राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई ५ लाख भारु र घाइतेलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले प्रारम्भिक अनुसन्धानबाट आगलागी पटाका पड्किँदा सुरु भएको पुष्टि भएको बताएका छन्।

प्रहरीले क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुरलाई पक्राउ गरेको छ। मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध एफआईआर दर्ता गरिएको छ। साथै, अर्पोरा–नागोआ पञ्चायतका सरपञ्च रोशन रेडकरलाई पनि हिरासतमा लिइएको छ।

सन् २०२३ मा क्लबलाई अनुमति दिने भूमिकामा रहेका तत्कालीन पञ्चायत निर्देशक सिद्धि तुषार हरलंकर, गोवा राज्य प्रदूषण नियन्त्रण बोर्डकी सदस्य सचिव डा. शमिला मोन्टेइरो र गाउँ पञ्चायतका सचिव रघुवीर बागकरलाई निलम्बन गरिएको छ। सरकारले छानबिन समिति गठन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गरेका छन्। विपक्षी दलहरूले मुख्यमन्त्री सावन्तको राजीनामा माग गरेका छन् भने उनले यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा कारबाही गर्ने दाबी गरेका छन्।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com