काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार सुनिश्चितमा गम्भीर चुनौतीहरू उत्पन्न हुने चेतावनी दिँदै सबै सरोकारवालालाई सचेत रहन आग्रह गरेका छन्।
सोमबार ललितपुरमा आयोजित १७औँ राष्ट्रिय मानव अधिकार महाभेला उद्घाटन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एकअर्काका परिपूरक भएको उल्लेख गर्दै भने, ‘लोकतन्त्र सुदृढ भए मात्र मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव छ।’
अर्कोतर्फ, उनले वर्तमान परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भमा लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए।
गृहमन्त्री अर्यालले मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित विषयहरू कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय समुदायसँग गरेका प्रतिवद्धता पूरा गर्दै मानवअधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी) लाई निष्कर्षमा पुर्याएर सबै नागरिकको मानवअधिकार सुनिश्चित गर्नु वर्तमान समयको प्रमुख आवश्यकता भएको बताए।
उनले भने, ‘मानवअधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड हो। नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो। तर यो कार्य राज्यले मात्र पूरा गर्न सक्दैन, यसमा समाजका हरेक तह, नागरिक समाज, मानवअधिकारकर्मी तथा आम नागरिकको साझा प्रयास आवश्यक पर्छ।’
गृहमन्त्री अर्यालले मानवअधिकारको संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको पुनः जोड दिएका छन्।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया