काठमाडौं । नागरिक बचाउ दलका संरक्षक तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँ र प्रधानमन्त्री सुशीला कार्की बीच सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ।
भेटमा प्रसाईँले जनमत संग्रहको आवश्यकता र त्यसबारे आफूहरूको प्रस्तावबारे प्रधानमन्त्रीसँग विस्तृत कुराकानी गरेका छन्। भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले पुस २ गते जनमत संग्रहसम्बन्धी निर्णय दिने आश्वासन दिएको बताए।
उनका अनुसार, ‘यो व्यवस्था ठीक छ कि छैन भन्ने विषयमा जनमत संग्रहमा जानुपर्ने सुझाव हामीले राखेका छौँ। प्रधानमन्त्रीले पुस २ गते निर्णय सुनाउने बताउनुभयो। यदि निर्णय दिन सकिएन भने निर्वाचन सम्भव हुँदैन भन्ने हाम्रो बुझाइ छ,’ प्रसाईँले भने।
प्रसाईँले आफूहरूका माग सम्बोधन नभए जनविद्रोहसम्मको परिस्थिति सिर्जना हुन सक्ने दाबी पनि गरे।
उनको समूहले अघि सारेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधान पूर्ण रूपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ल्याउने, हिन्दु राज्य, राजसंस्थाको पुनःस्थापना लगायतका प्रस्तावहरू समावेश छन्।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया