काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो निवासमा आगजनी हुँदा घरमा नगद जलेको भनी फैलाइएको हल्ला गलत भएको दाबी गरेकी छन्।
सर्वोच्च अदालतमा आफ्ना विरुद्ध परेको रिट निवेदनको लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएका समाचारलाई आधारहीन र अपुष्ट भएको स्पष्ट पारिन्।
उनले जवाफमा लेखेकी छन्, ‘म र मेरो पति नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको भन्ने भ्रामक समाचार विभिन्न टेलिभिजन र सामाजिक सञ्जालमा सार्वजनिक भएको र त्यसलाई आधार बनाएर दोषारोपण गरिएको कुरा पूर्ण रूपमा गलत हो।’
पूर्वपरराष्ट्रमन्त्री र राष्ट्रिय सुरक्षा परिषद्का सदस्य समेत रहेकी आरजु राणासहितका व्यक्तिहरूविरुद्ध रिट निवेदनमा बेलैमा सुरक्षा परिषद्को बैठक बोलाएर सेना परिचालन नगरेको कारण जनधनको क्षति भएको भन्दै कारबाही माग गरिएको थियो।
यसको जवाफ दिँदै आरजु राणाले भनिन्, ‘शान्तिपूर्ण आन्दोलनको क्रममा केही उछृङ्खल व्यक्तिहरू हाम्रो निजी निवासमा प्रवेश गरी हामीमाथि भौतिक आक्रमण गरेको र मेरो निवासमा आगजनी भएको थियो। त्यस समयमा हामी घाइते पनि भयौं। यस अवस्थामा सुरक्षा परिषद्को बैठक बोलाउन नसकिएको हो।’
साथै उनले सामाजिक सञ्जालमा फैलाइएको ‘घरबाट नगद जलेको’ अफवाह पूर्णतया गलत भएको र क्षतिको मुचुल्का समेत सरकारी निकायबाट तयार भइसकेको उल्लेख गर्दै, ‘आशंकामा आधारित पूर्वाग्रही रिट निवेदन खारेज गरियोस्,’ भनी अदालतसँग माग गरेकी छन्।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया