काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङसँग बिहीबार औपचारिक भेट गरेका छन्।

सर्वोच्च अदालतको आदेशपछि बुधबार प्राधिकरणमा पुनर्बहाली भएसँगै शाक्यले आफ्नो पदबहाली सम्पन्न गरेका थिए। अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले उनलाई कार्यकारी निर्देशकको पदमा पुनर्बहाली गर्न आदेश दिएको थियो।

advertisement

स्रोतका अनुसार शाक्यले आफ्नो पदमा फर्किँदै ऊर्जा मन्त्री घिसिङ र ऊर्जा सचिव चिरञ्जीवी चटौतलाई आफ्नो उपस्थितिको जानकारी गराएका थिए। त्यसको प्रत्युत्तरमा मन्त्री घिसिङले परिणाममुखी काममा केन्द्रित भएर काम गर्न निर्देशन दिएका थिए।

भेटमा मन्त्री घिसिङले शाक्यसँग भने, ‘मैले विगतमा तपाईंलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यको रूपमा सरुवा गरेको थिएँ। तर तपाईं अदालत जानु भयो। अदालतको आदेशपछि पुनर्बहाली भइसकेको छ। अब द्वन्द्व बढाउने तिर होइन, परिणाममुखी काममा ध्यान दिनुहोस्।’

स्रोतका अनुसार मन्त्री घिसिङले शाक्यलाई प्राधिकरणको हित र सरकारको लक्ष्यअनुसार काम गर्न र विगतका व्यक्तिगत वा बाह्य सम्बन्धहरूलाई काममा प्रभाव पार्न नदिन आग्रह गरेका थिए। उनले सबै सरोकारवालाका गुनासा सुनेर सम्बोधन गर्न तथा आवश्यक स्रोत र उपकरणको अभाव नहुने गरी काम गर्न निर्देशन दिएका छन्।

मन्त्रीको निर्देशनपछि शाक्यले आगामी दिनमा अझ बढी जोस, इमान्दारिता र प्रतिबद्धताका साथ काम गर्ने वचन दिएका छन्। उनले सरकारको नीति निर्देशन र प्राधिकरणको हित सर्वोपरि राखेर कार्यान्वयनमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com