मुस्ताङ । मुस्ताङको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्।

स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ।

advertisement

किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका थिए। तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिब रु छ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल जाँदै गरेको बताए।

पछिल्लो समय मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ। हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरु चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्। हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरुको पशुधनमा क्षति पुर्‍याउने गरेको पाइएको छ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बिचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ। यसैका कारण जिल्लाका कतिपय किसानहरु पशुपालन व्यवसाय छोड्न थालिसकेका छन्।

  • रासस

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com