काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भएको आरोप लगाएका छन्। शुक्रबार ईश्वर पोखरेल समूहका युवा नेताहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
पाण्डेका अनुसार, पार्टीमा प्रतिस्पर्धाद्वारा नेतृत्व चयन गर्ने मूल मान्यतालाई वर्तमान अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गर्दै आएका छन्। उनले भने, “यो महाधिवेशनमा हामी ईश्वर पोखरेलको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछौँ। २०४६ पछि एमालेले सार्वजनिक राजनीतिक मञ्चमा उभिएदेखि अब पार्टी नेतृत्व खोपाको देउता होइन, जनतासहित पार्टी सदस्यबाट अनुमोदित हुनुपर्छ। यही हाम्रो बहुदलीय लोकतान्त्रिक मूल मान्यता हो।”
उपाध्यक्ष पाण्डेका अनुसार, अध्यक्ष ओलीले आठौं महाधिवेशनमा प्रस्ताव गरेको विधानअनुसार, कुनै व्यक्तिले दुई पटकभन्दा बढी मुख्य नेतृत्व लिन सक्दैन र ७० वर्ष उमेरभन्दा माथिका नेताले शीर्ष पदमा बस्न पाउँदैन। तर नवौं महाधिवेशनमा ओलीले पहिले घोषणा गरेका नियम र पार्टी विधानको उल्लङ्घन भएको पाण्डेले बताए।
‘त्यो विधानको व्यवस्था हटाएर एमालेले आफैं सुरु गरेको लोकतान्त्रिक बाटोलाई अवरुद्ध गर्ने काम भइरहेको छ,’ पाण्डेले बताए। उनले उक्त व्यवस्थालाई पुनर्स्थापना गरेर पार्टीलाई लोकतान्त्रिक बाटोमा अघि बढाउन आफूहरू लडिरहेको पनि स्पष्ट पारे।
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता सम्बन्धी विवादमा पनि ओलीले पहिले मिल्छ भनेको र पछि नहुने निर्णय गरेको पाण्डेले जनाए। उनले अध्यक्षलाई आफ्नो भनाइमा अडिन आग्रह गर्दै भने, ‘हामीले २ टर्म र पार्टी सदस्यताको विषयलाई राजनीतिक विवाद नबनाउन आग्रह गरेका छौँ।’
पाण्डेले महाधिवेशनबाट कम्तीमा २० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफूहरूले लडिरहेको बताएका छन्। उनले पार्टीमा नाम टाँसेर कमिटी बनाउने पुरानो प्रवृत्तिलाई हटाएर कार्यकर्तामै आधारित नेतृत्व चयन प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा युवा नेताहरू सुमन पुरी, प्रकाश पौडेल, राजेश राई लगायतले एमालेमा जिम्मेवार नेतृत्व आवश्यक रहेको भन्दै, अहिलेको ओली नेतृत्व निरन्तर चुनौतीपूर्ण र स्वीकार्य नभएको बताए।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया