काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको संविधान कमजोर भएको र लोकतन्त्र संकटमा परेको बताएका छन्।
भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महासचिव पोखरेलले भदौ २३ पछिका घटनालाई प्रतिगमनका रुपमा व्याख्या गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘संविधान घाइते भएको छ। लोकतन्त्र कमजोर बनाइएको छ। जनताले निर्वाचित गरेको प्रतिनिधिसभा विघटन गरिएको छ।’
पोखरेलले भदौ २३ र २४ का घटनापछि एमालेविरुद्ध सञ्चालित योजनाबद्ध प्रहारले पार्टीको भविष्य समाप्त भएको प्रचार भए पनि महाधिवेशनमा देखिएको भव्य उपस्थितिले एमाले अझ बलियो भएको प्रमाणित गरेको बताए।
उनले थपे, ‘हामी सरकारबाट बाहिर छौँ, तर नेपाली जनताको मनमा छौँ। यहाँको उपस्थितिले एमाले थप बलियो भएको सन्देश दिएको छ।’
महासचिव पोखरेलले नेकपा एमालेले विकास, समृद्धि र राष्ट्रिय स्वाधीनताको पक्षमा सँधै अग्रणी भूमिका खेलेको र खेलिरहने दाबी समेत गरे।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया