काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सुशीला नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै त्यसलाई समर्थन गर्न नसकिने बताएका छन्।

नेकपा एमालेको ११औँ महाधिवेशनका अवसरमा शुभकामना सन्देश दिँदै महासचिव विप्लवले राजनीतिक दलविना मुलुकको समृद्धि सम्भव नरहेको उल्लेख गरे। उनले नेपाललाई कसैको अधीनमा जान नदिने स्पष्ट अडान व्यक्त गर्दै देशको निकासका लागि सर्वपक्षीय सरकार गठन आवश्यक रहेको बताए।

advertisement

उनले देश जटिल परिस्थितिमा फसेको भन्दै प्रश्न उठाए— ‘दल छन्, देश छ, नेताहरू पनि छन्, तर आज राज्य कहाँ छ ? राज्य छ कि छैन भन्ने नै प्रश्न खडा भएको छ।’ यस्तो संवेदनशील अवस्थामा एमालेको महाधिवेशन हुन लागेको उल्लेख गर्दै उनले एमालेमाथि उठेका प्रश्नहरूको जवाफ दिनकै लागि यो महाधिवेशन महत्त्वपूर्ण रहेको टिप्पणी गरे।

महासचिव विप्लवले विश्वले अहिले एमालेको महाधिवेशनलाई चासोका साथ हेरिरहेको बताउँदै यसले मुलुकको वर्तमान संकटको निकास दिन सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ दिन सफल भएको दाबी गरे।

उनले राजनीतिक दलहरूले देशका लागि धेरै त्याग र संघर्ष गरे पनि जनताका अपेक्षा अझै पूरा हुन नसकेको यथार्थ औँल्याए। साथै, वर्तमान तरल परिस्थितिलाई प्रयोग गर्दै साम्राज्यवादी शक्तिहरूले स्वार्थका लागि प्राकृतिक स्रोतसाधन दोहन गर्न कठपुतली शासन लाद्ने प्रयास गरिरहेको आरोप लगाए।

‘आज नेकपा एमालेमाथि गम्भीर हमला भइरहेको छ,’ विप्लवले भने, ‘यसको मुख्य कारण एमालेले निरन्तर राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिँदै आएको हो।’

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com