सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वमा रहेका सरकारहरूले मुलुकका लागि उल्लेखनीय काम गरेको बताएका छन्।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा विकास र जनजीवनसँग जोडिएका धेरै महत्वपूर्ण काम अघि बढाइएको दाबी गरे।

advertisement

उनले भने, ‘म र प्रचण्डजी प्रधानमन्त्री हुँदा राम्रा कामहरू पनि भएका छन्, तर केही पनि गरेनन् भन्ने प्रचार गरिन्छ।’ मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम तथा युवालाई रोजगारी दिने पहलजस्ता महत्त्वपूर्ण योजनाहरू कम्युनिस्ट सरकारकै कार्यकालमा सुरु र अघि बढाइएको उनले उल्लेख गरे।

जनताका अपेक्षा अनुसार सबै काम पूरा हुन नसकेको स्वीकार गर्दै उनले भने, ‘जति गर्न सक्नुपर्थ्यो, त्यो हुन नसकेका होलान्। तर केही पनि नभएको होइन। हामीले शिर निहुराउनुपर्ने अवस्था छैन।’

सम्बोधनका क्रममा सहसंयोजक नेपालले अब पार्टी इमानदारहरूको संगठन बन्ने बताए। भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्धिको बाटोमा अघि बढाउन नसकिने उनको भनाइ थियो।

उनले थपे, ‘भ्रष्टाचार र स्वार्थी सोच समाप्त नगरी तथा साझा भावना विकास नगरी देश अगाडि बढ्न सक्दैन। त्यसैले विगतका कमजोरी स्वीकार गर्दै इमानदार ढंगले काम गर्ने प्रतिबद्धतासहित हामीले पार्टी एकता गरेका हौँ।’

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com