काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको महाधिवेशन अन्तर्गत आयोजित बन्दसत्र स्थल भृकुटीमण्डप पुगेका छन्। अध्यक्ष ओली स्थलमा पुगेपछि केन्द्रीय कमिटी बैठक केही समयमै सुरु हुने तयारी गरिएको छ।
यसअघि बन्दसत्र दिउँसो १२ः३० बजेका लागि तय गरिएको भए पनि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेपछि कार्यक्रम सारिएको थियो। विभिन्न पदाधिकारी पदका आकांक्षीहरूसँगको छलफलमा ओली व्यस्त हुँदा बैठक तोकिएको समयभन्दा ढिलो हुन लागेको हो।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। प्रस्तावअनुसार पदाधिकारीको संख्या १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने योजना रहेको छ।
पार्टी महाधिवेशनको कार्यतालिका अनुसार आजबाट भृकुटीमण्डपमै एमालेको बन्दसत्र सुरु हुँदैछ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी प्रस्तुत गरेका छन्। नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी पार्टीले गरेको छ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया