काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा नेपाल प्रहरी बारम्बार निशानामा पर्ने गरेको गुनासो गरेका छन्। उनले आवश्यक पर्दा प्रयोग गर्ने र आवश्यकता नपर्दा उपेक्षा गर्ने प्रवृत्ति प्रहरीसँग जोडिने गरेको उल्लेख गरे।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले विगतका आन्दोलनहरूकै निरन्तरता स्वरूप यस वर्ष पनि प्रहरी संरचनाहरूलाई लक्ष्य बनाइएको बताए। ‘यसपटक पनि आन्दोलनका क्रममा नेपाल प्रहरीका धेरै संरचना ध्वस्त पारिए,’ उनले भने, ‘नेपालको इतिहासमा भएका राजनीतिक तथा अन्य खालका आन्दोलनहरूमा प्रायः प्रहरी नै पहिलो निशानामा पर्ने गरेको देखिन्छ।’
प्रहरीलाई कहिले आवश्यक र कहिले अनावश्यक ठान्ने मानसिकता व्याप्त रहेको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिहरूको अन्त्य गर्न नागरिक र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।
शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नागरिक–प्रहरी साझेदारी नै प्रभावकारी उपाय भएको उल्लेख गर्दै आईजीपी कार्कीले सबै दर्जाका प्रहरी कर्मचारीहरूलाई नागरिकसँग नजिक रहेर जिम्मेवारी निर्वाह गर्न निर्देशनसमेत दिए।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया