काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकमार्फत गरिएको विधान संशोधनको निर्णयप्रति आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो असन्तोष व्यक्त गर्दै सो निर्णयले विधान अधिवेशनको औचित्य नै कमजोर बनाएको प्रश्न उठाएका छन्।
पाण्डेले लेखेका छन्, ‘के हाम्रा विधानहरू अस्थायी हुन्? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भनी छलफल भयो, आज फेरि कोटाका आधारमा त्यही संख्या बढाइन्छ–यो सरासर मनपरी होइन भने के हो?’
उपाध्यक्ष पाण्डेले पार्टी निर्णय मनपरीतन्त्रमा आधारित भएको भन्दै त्यसविरुद्धको लडाइँ जारी रहेको बताएका छन्। उनले जोड दिएका छन्, ‘अहिले आएर दाँया–बाँया निर्णय गर्ने हो भने विधान अधिवेशनको औचित्य समाप्त हुन्छ। पार्टीको विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ निरन्तर जारी छ।’
एमालेको दशौं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो। भदौमा सम्पन्न विधान अधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको सदस्य संख्या २५१ कायम गर्ने निर्णय गरेको थियो। तर अन्तिम समयमा यस निर्णयमा संशोधन हुन लागेको एमालेले जनाएको छ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया