काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक र आर्थिक अवसरमा नातावाद, कृपावाद तथा पक्षपातको अन्त्य अनिवार्य भएको बताएकी छन्। उनले यस्तो प्रवृत्ति समाप्त नगरेसम्म सुशासन र समावेशी विकास सम्भव नहुने स्पष्ट पारिन्।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा युवाहरूले उठाएका सुशासन र समृद्धिका मुद्दा अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरिन्। ती मागहरूलाई व्यवहारमा उतार्न सबै पक्ष गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार जेनजीले उठाएको नातावाद, कृपावाद र पक्षपातको विरोध समावेशी विकास र सामाजिक न्यायप्रतिको गहिरो आकांक्षाको अभिव्यक्ति हो। सबै वर्ग, क्षेत्र र समुदायको समान पहुँच र सहभागितामा हुने विकास मात्र दिगो हुने र त्यसले देशलाई थप सबल बनाउने उनले धारणा राखिन्।
‘२३ र २४ भदौमा भएको जेनजी आन्दोलनले सुशासन र समृद्धिलाई मुख्य मुद्दाका रूपमा स्थापित गरेको छ। राजनीतिक र आर्थिक अवसरमा निष्पक्षता कायम गर्नु जनताको साझा चाहना हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबै समुदायको समान सहभागितामा अघि बढेमा मात्र मुलुकले दीर्घकालीन विकासको बाटो समाउन सक्छ।’
उनले सबै जाति, भाषा र संस्कृतिका समुदायको हित सुरक्षित हुनेगरी नीति तथा कार्यक्रम अघि बढाउन सम्बन्धित निकायलाई सचेत गराइन्।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया