काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
उपसभापति धनराज गुरुङको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले स्व. उपाध्यायप्रति शोक प्रस्ताव पारित गर्दै पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकले स्वर्गारोहणको १३औँ दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा उपाध्यायको गृह जिल्ला मोरङमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको छ।
स्व. उपाध्याय वि.सं. २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। त्यसैगरी, वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न उपनिर्वाचनमा उनी मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। वि.सं. २०५६ मै उनले शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार













प्रतिक्रिया