काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्धारित समयमै सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा योजना निर्माण भइसकेको र व्यवस्थापकीय तयारी तीव्र पारिएको जानकारी दिए। वर्तमान सरकार निर्वाचन सम्पन्न गराउनकै उद्देश्यले गठन भएको उल्लेख गर्दै उनले तोकिएको मितिमै निर्वाचन गराएर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु सरकारको मुख्य दायित्व रहेको स्पष्ट पारे।

advertisement

उनले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको स्मरण गराउँदै कुनै पनि बहानामा निर्वाचन नरोकिने दाबी गरे। निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्न राजनीतिक दल तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद भइरहेको गृहमन्त्री अर्यालको भनाइ छ।

निर्वाचन सुरक्षा व्यवस्थाबारे बोल्दै उनले देशभर एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक रणनीति तय गरिने बताए।

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये करिब ७० प्रतिशत पुनः नियन्त्रणमा आइसकेको र लुटिएका हतियार फिर्ता हुने क्रम जारी रहेको जानकारी दिए। आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीलाई सामान्य अवस्थामा फर्काउन सरकार गम्भीर रूपमा सक्रिय रहेको उनले बताए।

निर्वाचन सफल बनाउन प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उनले सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीसहित गण्डकी प्रदेशका ११ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको छ।

गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालका अनुसार गोष्ठीमा गण्डकी प्रदेशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै आगामी दिनका लागि सुरक्षा रणनीति र कार्यदिशा तय गरिनेछ। साथै निर्वाचन सुरक्षासम्बन्धी योजनामाथि पनि विस्तृत छलफल हुने बताइएको छ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com