काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने उद्देश्यसहित पार्टीले पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने चरणबद्ध प्रक्रिया सार्वजनिक गरेको हो।

पार्टीद्वारा जारी कार्यतालिकाअनुसार पुस ३ गते प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गर्दै प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। सोही दिनदेखि पुस ४ गतेसम्म उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। प्राप्त दाबी–विरोधको छानबिनपछि पुस ५ गते उम्मेदवारहरूसँग छलफल गरिनेछ र त्यसपछि अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

advertisement

उम्मेदवार छनोटलाई वैज्ञानिक र तथ्यपरक बनाउने उद्देश्यले रास्वपाले पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी’ र ‘पोलिटिकल प्रोक्सिमिटी’को आधारमा उम्मेदवारहरूको मूल्याङ्कन गर्ने जनाएको छ। यस अवधिमा उम्मेदवारहरूको नेतृत्व क्षमता, राजनीतिक समझ र कार्यक्षमताको परीक्षण गरिनेछ।

क्षमता मूल्याङ्कन सम्पन्न भएपछि पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन आयोजना गरिनेछ। कार्यतालिकाअनुसार दुवै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ।

सबै चरण पूरा भएपछि पुस १४ गते अन्तिम नतिजा सार्वजनिक गरिने रास्वपाले जानकारी दिएको छ। उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, सहभागितामूलक र विश्वसनीय बनाउन यो समयतालिका सार्वजनिक गरिएको पार्टीको भनाइ छ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com