काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) रोशन कुमार न्यौपाने र बैंकका अध्यक्ष तुलसीराम अग्रवालमाथि कारबाही गरेको छ। राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको ठहर गर्दै दुवै पदाधिकारीलाई जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरेको हो।

राष्ट्र बैंक स्रोतका अनुसार, बैंक सुपरिवेक्षण विभागले गरेको स्थलगत निरीक्षणका क्रममा एनआईसी एशिया बैंकमा गम्भीर नियामकीय कमजोरी भेटिएका थिए। अधिकांश खराब कर्जामा आवश्यक प्रोभिजन नगरिएको, नियामकलाई पटक–पटक गलत विवरण पेश गरेको, मनपरी ब्याज असुली तथा ब्याज फिर्तामा अनियमितता गरेको लगायतका कैफियत प्रतिवेदनमा उल्लेख छ।

advertisement

उक्त प्रतिवेदनका आधारमा बैंक सुपरिवेक्षण विभागले तत्कालीन सीइओ न्यौपाने र अध्यक्ष अग्रवाललाई कारबाही गर्नुपर्ने निष्कर्षसहित नेपाल राष्ट्र बैंकको बोर्डमा प्रस्ताव पेश गरेको थियो। त्यसअनुसार २०८२ साल असोज १ गते दुवै पदाधिकारीसँग लिखित स्पष्टीकरण माग गरिएको थियो। सात दिनभित्रै स्पष्टीकरण पेश गरिए पनि लामो समयसम्म निर्णय नहुँदा राष्ट्र बैंकको कार्यसम्पादनमाथि चौतर्फी प्रश्न उठ्न थालेको थियो।

नियामकको निर्णय प्रक्रियामा ढिलाइ र दबाबको आशंका बढेपछि राष्ट्र बैंक बोर्डले व्यवस्थापनलाई कडा निर्देशन दिएको थियो। सोही निर्देशनपछि झन्डै तीन महिनापछि तत्कालीन सीइओ न्यौपाने र अध्यक्ष अग्रवालमाथि नगद जरिवानासहित कारबाही गर्ने निर्णय कार्यान्वयन गरिएको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० ले बैंक तथा वित्तीय संस्थाले नियामकीय निर्देशन उल्लङ्घन गरेमा एक वा एकभन्दा बढी सजाय गर्न सकिने व्यवस्था गरेको छ। सोही ऐनको उपदफा (२) (ग) मा सञ्चालक, पदाधिकारी वा कर्मचारीले निर्देशन उल्लङ्घन गरेमा पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने स्पष्ट प्रावधान छ।

त्यस्तै, ऐनको दफा १०१ अनुसार आर्थिक जरिवाना वा सजाय गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थासँग लिखित स्पष्टीकरण सोध्नुपर्ने व्यवस्था छ, नत्र पुनरावेदनको बाटो खुला रहने उल्लेख गरिएको छ। यही कानुनी प्रक्रियाअनुसार एनआईसी एशिया बैंकका अध्यक्ष र तत्कालीन सीइओसँग स्पष्टीकरण माग गरी कारबाही अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ।

स्रोतका अनुसार, पटक–पटक नियामकीय निर्देशन उल्लङ्घन गर्दै आएको एनआईसी एशिया बैंकले यसपटक पनि कारबाहीबाट उन्मुक्ति पाउन राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरूसँग गोप्य भेटघाट गरी निर्णय प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरेको थियो।

त्यसैबीच, स्पष्टीकरण सोधिने तयारी भइरहेको गोप्य सूचना पाएपछि तत्कालीन सीइओ रोशन कुमार न्यौपानेले स्पष्टीकरण सोधिनुभन्दा केही घण्टा अघिनै पदबाट राजीनामा दिएको तथ्यसमेत बाहिर आएको छ।

 

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com